संक्षिप्त परिचय

ऐतिहासिक पृष्ठभूमि

म्याग्दी जिल्ला सङ्घीय गणतन्त्रात्मक नेपालको प्रदेश नं ४ मा पर्ने पहाडी जिल्ला हो । यस जिल्लाको आफ्नै ऐतिहासिक पहिचान छ । धौलागिरि हिमालबाट उत्पत्ति भई जिल्लाको पश्चिम–उत्तरबाट दक्षिण–पूर्व बग्ने म्याग्दी नदीको नामबाट यस जिल्लाको नामकरण भएको पाइन्छ । “म्याग्दी” शब्दको उत्पत्तिको सन्दर्भमा विभिन्न भनाइहरू रहेका छन् । “मेङ” भनेको थापा र “दी” भनेको नदी मिलेर म्याग्दी शब्द बनेको भन्ने भनाइ छ । यहाँ पौराणिक तथा ऐतिहासिक थुप्रै महत्वपूर्ण स्थानहरू छन् । ऋषि जडभरतले राजा रहुगणलाई ज्ञानोपदेश दिएको क्षेत्र, “जड” जडभरत गुफाको नामले गलेश्वरमा रहेको छ । वर्तमानमा राखु नामले प्रचलित गाउँ नै राजा रहुगणको राजधानी थियो भनिन्छ । ऋषि पुलत्स्यको आश्रम “पुला” वर्तमान पुलाचौर गा.वि.स.मा रहेको छ । यस्तै मुनिवर पुलत्स्यको नाति विश्वका छोरा लंकाधिपति “रावण” को जन्मभूमि पनि यहीं हो भनिन्छ ।

लिच्छवी राजा मानदेवले गण्डकीपारी मल्लपुरीको बिद्रोह दमन गरेको कुरा इतिहासमा उल्लेख छ । मानदेव प्रथमको मुद्रा मानाङ्क बागलुङमा पाइएको हुनाले मल्लपुरी भनेको बागुलङ म्याग्दी यतै कतै हुनुपर्छ । प्रथम थापा राजा कालु थापा (वि.सं.१२४६) ले ताकममा राज्यको स्थापना गरेका थिए र थापाहरूको राज्यकाल ३०० वर्षसम्म रहेको थियो । बि.सं. १५४५ मा डिम्ब बम मल्लले थापाहरूलाई हराई ताकम राज्यलाई आफ्नो  राज्यमा गाभी वर्तमान धौलागिरि अञ्चलका सबै जिल्लाहरू समेटिएको विशाल पर्वत राज्यको स्थापना गरेका थिए । बम मल्लले बनाएको पर्वत राज्यको एक भाग रहँदासम्म म्याग्दीले आफ्नै विशेषता ओगटेको थियो । राजा कीर्ति बम मल्लले ढोलठानामा दरवार खडा गरी बसेको र बेनीमा ठाना राखेका थिए भनिन्छ । रणबहादुर शाहको राज्यकालमा बहादुर शाहले पर्वत राज्यलाई नेपालमा गाभेपछि म्याग्दी पनि नेपाल अधिराज्यको एक अभिन्न अंगको रुपमा रह्यो । एकीकरण पछि र राणा शासनकालमा यो जिल्ला पाल्पा प्रशासन अन्तर्गत रहेको थियो । पछि बाग्लुङ गौंडा स्थापना भएपछि त्यहाँबाटै यहाँको प्रशासनिक र न्यायिक काम संचालन हुन्थ्यो ।

राजनैतिक विभाजन

२०१५ सालमा महानिर्वाचन हुँदा ७ नम्बर क्षेत्रमा रहेको यो ठाउँलाई २०१८ सालमा १४ अंचल ७५ जिल्ला बिभाजन गर्ने क्रममा धौलागिरी अंचलमा पर्ने गरी म्याग्दी जिल्लाको नाममा अलग अस्तित्व कायम गरिएको थियो । उक्त समयमा यस जिल्लामा २१ वटा गाउँ पञ्चायत थिए । २०३२ सालमा पर्वत र मुस्ताङ जिल्लाबाट २० वटा गाउँ पंचायतहरू गाभिन आएपछि यस जिल्लालाई ४० गाउँ पञ्चायत र ९ इलाकामा विभाजन गरिएको थियो । २०४८ साल पछि यो जिल्ला ४१ गा.वि.स., ११ इलाका र दुई वटा निर्वाचन क्षेत्रमा विभाजित हुन पुग्यो । २०४८ को जनगणनालार्ई आधार मानी २०५१ सालमा यो जिल्लालाई एउटा मात्र निर्वाचन क्षेत्रमा कायम गरिएको थियो । २०७२ बैशाख २५ मा  जिल्ला सदरमुकाम बेनीबजार संगै रहेका ६ वटा गाविसहरुलाई मिलाएर  बेनी नगरपालिका घोषणा गरिएसंगै जिल्लामा हाल ३५ वटा गाविस र एक नगरपालिका कायम भएको छ। यस जिल्लाको पूर्वमा मनाङ, कास्की र पर्बत  पश्चिममा बाग्लुङ्ग, रुकुम र डोल्पा उत्तरमा मुस्ताङ्ग र डोल्पा र दक्षिणमा  बाग्लुङ्ग जिल्ला पर्दछन ।

भौगोलिक अवस्था

८ % बेसी क्षेत्र ५६ % उच्च पहाडी क्षेत्र र ३६ % हिमाली क्षेत्रको भू-बनोट भएको म्याग्दी जिल्ला ८३ डिग्री ०८‘ देखि ८३ डिग्री ५३‘ पूर्वी देशान्तर र २८ डिग्री २०‘ देखि २८ डिग्री ४७‘ उत्तरी अक्षांशसम्म फैलिएको छ । समुद्र सतहबाट ७९२ मीटर (रत्नेचौर गाविस) देखि ८,१६७ मीटर (धौलागिरि हिमाल) सम्म फैलिएको यस जिल्लाको कूल क्षेत्रफल २,२९७ वर्ग किलो मिटर (२,२९,७०६ हेक्टर)  रहेको छ । यहाँ अर्ध-उष्ण (१००० मीटर भन्दा कम उचाईंमा पाइने ) , सम-शितोष्ण (१००० देखि २००० मीटरको उचाईंमा पाइने ) , शितोष्ण ( २००० देखि ५००० मीटरको उचाईंमा पाइने ) र अल्पाइन (५००० मीटर भन्दा माथिको उचाईंमा पाइने ) गरी जम्मा चार  प्रकारको हावापानी पाइन्छ। वार्षिक न्युनतम ४०७ र अधिकतम २९६० मि.मि सरदर वर्षा हुने यस जिल्लामा वार्षिक औसत तापक्रम न्युनतम ३ डिग्री सेल्सियस र अधिकतम ३६ डिग्री सेल्सियस रहने गरेको छ ।  यस जिल्लामा सप्तगण्डकीको प्रमुख सहायक नदी कालीगण्डकीका साथै म्याग्दी तथा रघुगंगा नदी लगायत थुप्रै नदी तथा खोलानाला रहेका छन् । विश्वकै सबभन्दा गहिरो अन्धगल्छी (६९६७ मी), रुप्से छहरा, तातोपानी कुण्डहरु, धौलागिरि हिमाल, अन्नपूर्ण हिमाल, निलगिरी हिमाल, गुर्जाहिमाल, पुठा हिमाल, जलजला क्षेत्र, धौलागिरि वेसक्याम्प, घोडेपानी, पर्यटकीय महत्व बोकेका स्थलहरु रहेका छन ।

सामाजिक, सांस्कृतिक एवं पर्यटकीय महत्व

बि.स. २०६८ को जनगणना अनुसार म्याग्दी जिल्लाको कुल जनसंख्या १ लाख १३ हजार ६४१ रहेको छ । हिन्दु र बौध्द धर्म मान्नेको बाहुल्यता रहेको यस जिल्लामा छिटपुट रुपमा इशाई र इश्लाम धर्म मान्नेहरु पनि भेटिन्छन् । यस जिल्लामा बहुसंख्यक मात्रामा मगर जातिको अतिरिक्त बाहुन, क्षेत्री, ठकुरी, नेवार, गुरुङ, गिरी, सार्की, कामी, दमाई, थकाली, छन्त्याल र अन्य जातिहरुको बसोबास रहेको पाइन्छ । मुख्य रुपमा नेपाली भाषा बोलिने यस जिल्लामा मगर, नेवारी, छन्त्याल, थकाली र केहि मात्रामा गुरुङ भाषा पनि बोल्ने गरेको पाइन्छ । दशैँ, तिहार, ल्होसार,  माघेसंक्रान्ति, फागुपूर्णिमा, बैशाख पुर्णिमा, जनै पूर्णिमा, तिज आदि यहाँका प्रमुख चाडपर्वहरु हुन् ।

गलेश्वर धाम (घतान गाविस), पुलत्स्य आश्रम (पुलाचौर), बौध्द-गुम्बा (अर्थुङ्गे) आदि प्रमुख धार्मिकस्थलहरु रहेको यस जिल्लाका अन्य धार्मिकस्थलमा रिखार (कुइनेमंगले), बेनी शिवालय (अर्थुङ्गे), लक्ष्मीनारायण मन्दिर (अर्थुङ्गे), वरको रुख (अर्थुङ्गे), महारानिथान (अर्थुङ्गे), मालिकथान (वीम), गिध्देश्वर मन्दिर (हिस्तान), जगन्नाथ मन्दिर (पुलाचौर), ढोलठाना (पुलाचौर), भगवती मन्दिर (भगवती),ताकमकोट (ताकम), खोप्रा खरिवारह (शिख) आदि पर्दछन ।

त्यसैगरी तातोपानी (सिंगा र भुरुङ), पुनहिल (घार), घोडेपानी (घार) अन्ध गल्छी (दाना), रुप्से झरना (दाना), धवलागिरी बेस क्याम्प (मुदी) आदि प्रमुख पर्यटकीय स्थलहरु रहेको यस जिल्लाका अन्य पर्यटकीयस्थलहरुमा मालिकाधुरी (देवीस्थान), टोड्केधुरी (झीं र कुहुँ), ढोरपाटन आरक्ष (गुर्जा र लुलाङ), मालिकधुरी (विम), पछात्र धुरी (चिमखोला), पेरी भरानी ताल (राम्चे), लालीगुराँस वन क्षेत्र (घार, शिख र अन्य क्षेत्र) दहबुकी वन क्षेत्र (चिमखोला), जलजला क्षेत्र (राम्चे) आदि पर्दछन ।

विकासको अवस्था

पोखरा कुश्मा मालढुंगा हुँदै बेनीसम्मको सडक निर्माण हुनुपूर्व ज्यादै विकट जिल्लाको रुपमा रहेको यस जिल्लाको सदरमुकाम  बेनी स्थित म्याग्दी नदी र काली कण्डकीमा पक्की मोटर पुल निर्माण भएपछि सदरमुकाम बेनी बजारलाई मालढुंगा बेनी सडक र बाग्लुङ्ग बेनी जोमसोम सडकले राष्ट्रिय संजालमा आबद्ध गराएको छ । यस जिल्लामा २.२५ कि.मी. कालोपत्रे, ४.६० कि.मी. ग्राभेल, ५६७ कि.मीं कच्ची गरी कूल ५८१ कि.मी. सडक निर्माण भएको छ भने बेनी न.पा. र २८ गाविसलाई सडकले छोएको छ ।

शैक्षिक पूर्वाधारहरूको चर्चा गर्दा शिक्षा क्षेत्रमा यस जिल्लामा ४ वटा क्याम्पस, १९ वटा उच्च माध्यमिक विद्यालय, ४४ वटा मा.वि., ४१ वटा नि.मा.वि. र १६४ वटा प्राथमिक विद्यालयहरू छन् । जिल्लामा पुरुष साक्षरता ८१.९७  प्रतिशत र महिला साक्षरता ६४.७९ प्रतिशत गरी कूल जनसंख्याको ७२.४२ प्रतिशत साक्षरता रहेको छन् ।

स्वास्थ्य क्षेत्रमा एउटा जिल्ला अस्पताल, एउटा हेल्थ सेन्टर, १२ वटा हेल्थ पोष्ट, २७ वटा सब हेल्थ पोष्ट, १ वटा निजी अस्पताल, १७ वटा प्राइभेट क्लिनिक र तीन वटा आयुर्वेदिक स्वास्थ्य केन्द्रहरू रहेका छन् । यसैगरी संचार क्षेत्रमा ४० वटा हुलाक सेवा केन्द्र र १०४० साधारण टेलिफोन लाइन, ४६० सिडिएमए सेवा, २७ वटा भिस्याट सेवा तथा ७०० पोष्टपेड, ३५००० प्रिपेड, २०० पोष्टपेड रिम, ५५०० स्काइ प्रिपेड मोवाइल टेलिफोन वितरण गरिएको छ । त्यस्तै पिएसटिएन, सिडिएमए, युटिएल, डायल अप, एडिएसएल र जिपिआरएस इन्टरनेट सेवा तथा २ वटा गा.वि.स. मा वायरलेस इन्टरनेट सेवा रहेको पाइन्छ ।

केन्द्रीय प्रसारण लाइनमा जोडिएको तातोपानी जलविद्युत योजना (२ मेघावाट) यस जिल्लामा भए पनि हालसम्म बेनी न.पा. र २० वटा गा.वि.स. मा मात्र आंशिक रुपमा विद्युत सेवा उपलब्ध छ । जसबाट १२,७९९ घरपरिवार लाभान्वित भएका छन् । साथै ११ वटा गाविसमा लघु जलविद्युत अयोजनाबाट ३४२ कि.वा. विद्युत उत्पादन भई ३४३८ घरपरिवारमा विद्युत  सुविधा पुगेको छ ।

खानेपानी क्षेत्रमा हालसम्म ८९ प्रतिशत जनसंख्यालाई स्वच्छ खानेपानीको उपलब्धता भैसकेको छ । साथै यो जिल्ला खुला दिसामुक्त भैसकेको एवं शतप्रतिशत जनसंख्यालाई सरसफाई सेवा उपलब्ध छ ।

उद्योग क्षेत्रमा यस जिल्लामा २३ वटा घरेलु र ५०३ वटा साना उद्योग दर्ता भएको पाइएको छ । घोडेपानी, शिख, घार, खोप्रा, दाना, नारच्याङ, दाना, तातोपानी, तिप्ल्याङ, बैंसरी, गलेश्वर, बेनी, सिंगा, बाबियाचौर, दरवाङ, ताकम, मुदी लगायतका क्षेत्रमा होटेल व्यवसाय गर्नेको संख्या पनि अधिक रहेको पाइन्छ ।

यस जिल्लाको कूल भूमि मध्ये १२.९४ प्रतिशत कृषि योग्य भूमि छ । अधिकांश भूमि भिरालो भएकोले  सिंचाइयोग्य जमिनको कमी हुदा त्यसमध्ये पनि जम्मा ४.२७ प्रतिशत मात्र सिंचित क्षेत्र रहेको छ । यस जिल्लामा रहेको ८४,४५२ हेक्टर कूल वन क्षेत्र मध्ये २२८७७ हेक्टर वनक्षेत्र सामुदायिक वनको रुपमा समुदायलाई हस्तान्तरण गरिएको छ । हालसम्म गठन भएका सामुदायिक वन उपभोक्ता समूहहरू २९२ वटा रहेका छन् । बार्षिक ६० देखि ७० हजार मेट्रिक टनसम्म खाद्यान्न उत्पादन हुने यस जिल्लामा घरेलु पशुहरूको संख्या ३५ हजार जति रहेको  छ । भूमि स्वामित्वको कुरा गर्दा एक हेक्टर भन्दा बढी जग्गा हुने जम्मा १५.५ प्रतिशत घरधुरी र ०.५ हेक्टरभन्दा कम हुने २५.५ प्रतिशत घरधुरी रहेका छन् ।

म्याग्दी जिल्लाको समग्र विकासमा अग्रणी भूमिका खेल्ने जिल्ला विकास समिति म्याग्दीले विकास सम्बध्द सबै सरोकारवाला निकायसंग आवश्यक समन्वय गर्दै आइरहेको छ र जिल्लालाई विकासको उचाईंमा पुर्याउन निम्न नारालाई अघि सारेको छ –

“म्याग्दीको मानव विकास स्थिति, राष्ट्रिय औसतभन्दा माथि”


Skip to toolbar